Header Ads Widget

ताजा

6/recent/ticker-posts

सवारी धनीले सनाखत गरेर छोड्ने भनेको के हो ? कति रकम तिर्नु पर्छ ?

बिदेश वा बाहिर कतै जाँदै हुनु हुन्छ? आफ्नो नाममा भएको सवारी साधन किन्ने मान्छे भेट्नु भएको छैन ? अथवा, तपाईको नाममा भएको सवारी साधनको नामसारी गर्ने दिनमा तपाई उपस्थित हुन नसक्ने केही अवस्था छ?

यातायात व्यवस्था कार्यलयमा गएर सनाखत गरेर छोडिदिनुस् । किन्ने मान्छे भेटिए पछि नामसारी गरे हुन्छ । तपाईको अनुपस्थितिमा पनि तपाईको नाममा भएको सवारी साधनको नामसारी हुन्छ ।


यस पोष्टमा म मोटरसाईकल सनाखत गर्ने विषयमा लेख्दैछु तर अन्य सवारी साधनहरुको हकमा समेत प्रकृया तथा अन्य कुराहरु मेल खानेछन् ।

सनाखत गर्ने भनेको के हो?

सवारी साधन किनबेच गरिसके पछि कानूनी रुपमा सवारी साधनको स्वामित्व हस्तान्तरण गर्न नामसारी गर्नु पर्छ । नामसारी प्रकृया सहज र सरल छ । 

१. चालु आर्थिक वर्ष सम्मको कर चुक्ता भईसकेको छ भने रु २००।- को रसिद काट्ने

२. नामसारी फाराममा किन्ने बेच्‍ने मान्छेको विवरण भरी प्राविधिक निरीक्षण गराउने

३. बीमा नगरेको भए तेश्रोपक्ष बीमा गरी पोलिसी पेपर साथै राख्‍ने

३. सक्कल ब्लूबुक र क्रेताको ३ प्रति फोटो सहित किन्ने बेच्‍ने दुबै सक्कल नागरिकताका साथ उपस्थित हुने

यति भएपछि फाराम, फाइल, ढड्डा र ब्लू बुकमा नामसारीको अभिलेख चढाएर प्रमाणित गराए पछि नामसारी सम्पन्न भयो । तर कहिलेकाहीँ किन्ने बेच्‍ने दुबैको एकैसाथ समय नमिलेर, कहिले किन्ने मान्छे नभेटिँदै सवारी धनी बाहिर जानु पर्ने भएर वा अन्य कुनै कारणले तत्काल नामसारी गर्न मिलेन भने सवारी धनी स्वयं कार्यालयमा उपस्थित भई औँठाछाप, दस्तखत भिडाई पछि नामसारी भएमा आफ्नो सहमती छ भनी कबोल गरी छोडिदिने प्रकृया सनाखत हो

सनाखतका लागि आवश्यक कागजातहरुः

सवारीधनीले भविष्यमा नामसारी भएमा मन्जुर छ भनी सनाखत गरिदिनका लागि देहायका कागजातहरु आवश्यक पर्दछ ।

१. सवारी साधनको सक्कल फाइल
२. सवारी धनीको सक्कल नागरिकता
३. सवारी साधनको सक्कल ब्लू बुक
४. सनाखत फाराम

सनाखत गर्ने प्रकृया

१. माथि बताए बमोजिमका कागजातहरु लिएर आफ्ने सवारी साधनको सम्बन्धित फाँटमा जानुहोस् । सनाखत फाराममा सवारी धनीको विवरण र एक जना जिम्मा लिईदिने व्यक्ति रोहबरको विवरण भर्नु पर्छ ।
२. फाँटबाट तपाईका कागजातहरु रुजु गरेपछि सनाखत फाराममा पेश गरी फाँटप्रमुखकहाँ प्रमाणित गर्न पठाउँछन् ।
३. फाँटप्रमुखले तपाईको नागरिकता, दस्तखत रुजु गरी तपाई सवारी धनी भएको एकिन गरी सनाखत फाराम प्रमाणित गरिदिन्छन् ।
४. यसरी सनाखत फाराम प्रमाणित भएपछि लिई जान सक्नु हुन्छ ।

अब तपाईको रोहबर बस्‍ने व्यक्तिलाई प्रमाणित भएको सनाखत फाराम सहितको सवारी साधनको फाइल दिई छोड्नु भयो तपाईको अनुपस्थितिमा पनि सवारी साधनको नामसारी गर्न सम्भव हुन्छ ।

सनाखत गरेको दस्तुर कति तिर्नु पर्छ?

सनाखतको लागि कुनै दस्तुर तोकिएको छैन । सनाखत सवारी धनीको सुविधाको लागि राखिएको व्यवस्था हो र यो निःशूल्क हो । सनाखत गरेको कुनै दस्तुर वा राजश्व तिर्नु पर्दैन ।

सनाखतको अवधि कति हुन्छ ?

यातायात व्यवस्था विभागले २०७४ चैत्रमा जारी गरेको यातायात व्यवस्था कार्याविधि निर्देशिका, २०६० (संशोधित) को ११.१.८ को बुँदा नं ५ मा भएको व्यवस्था बमोजिम सनाखत हुने गरेको छ । उक्त बुँदामा तल तस्वीरमा देखाइए बमोजिम कार्यविधि तय गरिएको छ ।


यस कार्यविधि बमोजिम सनाखतको अवधि ३५ दिन तोकिएको छ ।

सनाखत गरिदिए पछि स्वामित्व हस्तन्तरण भयो?

सनाखत गरिदिए पछि सवारी साधनको नामसारी गर्ने दिनमा तपाईको उपस्थिति आवश्यक भएन । तपाई नहुँदा पनि नामसारी गर्न सम्भव हुन्छ । तर नामसारी नहुँदा सम्म उक्त सवारी साधन तपाईकै नाममा रहन्छ र सवारी साधनको कानूनी दायीत्व तपाईमाथि नै रहन्छ ।

आफैँ सकिन्छ आफैँ गरौँ । बिचौलिया मुक्त सेवा प्रवाहमा मद्दत गरौँ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः