Header Ads Widget

ताजा

6/recent/ticker-posts

सवारी साधन लिलाम गर्दै हुनुहुन्छ ? यी कुराहरु थाहा पाएर मात्र प्रकृया शूरु गर्नुहोला

सवारी साधन लिलाम गर्दै हुनुहुन्छ भने पहिले यो पेज राम्रोसँग पढेर मात्र लिलाम प्रकृया शूरु गर्दा तपाईलाई पछि प्रकृया या कागजात नपुगेको कारणले त्यस्तो सवारी साधन दर्ता गर्न वा लगत कट्टा गर्न झण्झटको सामना गर्न नपर्ने हुन्छ । 
 
सवारी साधनहरु पुरानो भएर काम नलाग्‍ने अवस्थाका भएमा तपाईको संस्था त्यस्तो सवारी साधनलाई लिलाम गरी छुटकारा पाउन सक्छ ।  

त्यस्तै यदि तपाई बित्तिय संस्थाको तर्फबाट काम गर्दै हुनुहुन्छ र तपाईको संस्थाको ऋणीले समयमा ऋण नतिरेको कारणले लिलाम गर्दै हुनुहुन्छ भने पनि यो पेजको जानकारीहरु तपाईका लागि उपयोगी हुनेछन् ।

लिलामका सवारी

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०७४ को निर्देशन नं. ३.११ मा "लिलामका सवारी भन्नाले प्रचलित नेपाल कानुन बमोजिम बढाबढ वा घटाघट गरी बिक्रि गरेको सवारी लाई जनाउँछ भनी परिभाषित गरिएको छ । साथै सोही कार्यविधिको निर्देशन नं. ११.१.५ को बुँदा नं १ मा "कुनै पनि सरकारी निकाय वा संङ्गठित संस्थाबाट बढाबढ प्रकृयाबाट व्यक्तिको नाममा आएका सवारी साधनलाई सामान्यतया लिलामका सवारी भनेर बुझिन्छ ।" भनी अर्थ्याइएको छ । 

उक्त बुँदामा नै "लिलाममा बिक्रि भएको भनी उल्लेख भएका, भन्सार प्रज्ञापनपत्रमा लिलाम भनी उल्लेख भएका" सवारी साधनहरुलाई समेत लिलामका सवारी भनेर परिभाषित गरिएको छ । 



लिलामको सूचना

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०७४ को निर्देशन नं ११.१.५ को बुँदा नं ३ अनुसार लिलामको सूचना निकाल्दा नै लिलाम गरिने सवारी साधन दर्ता (पुनः प्रयोग गर्न) वा स्क्र्याप (पुनः प्रयोग नगर्ने) के प्रयोजनका लागि लिलाम गर्ने हो सो व्यहोरा स्पष्ट सूचनामा नै उल्लेख गर्नु पर्छ भन्ने व्यवस्था छ । 

तसर्थ लिलामको सूचना निकाल्दा "जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्रि गर्ने" मात्र नभनी लिलाम पश्चात् दर्ता गर्न मिल्ने हो वा स्क्र्याप गर्नु पर्ने हो भन्ने समेत खुलाउनु पर्छ ।

प्राविधिक प्रतिनिधी

सवारी साधन लिलाम गर्ने प्रकृयाको शूरु देखि नै सम्भव भए सम्म सम्बन्धित यातायात व्यवस्था कार्यालयको प्राविधिक प्रतिनिधिको उपस्थिति हुनु पर्नेछ भनी कार्याविधिमा उल्लेख छ । 

सम्बन्धित कार्यालय भन्नाले काठमाडौँ उपत्यकाको मोटरसाईकलहरुको हकमा यातायत व्यवस्था कार्यालय मोटरसाईकल, गुर्जुधारा र चार पाङ्ग्रे सवारी साधनको हकमा यातायात व्यवस्था कार्यालय साना ठूला सवारी, एकान्त कुनाको प्राविधिक प्रतिनिधिलाई सामेल गराउनु पर्छ ।

अनिवार्य स्क्र्याप गर्नुपर्ने

यातायात व्यवस्था कार्यविधि, २०७४ अनुसार एक पटक लिलाम दर्ता भएका सवारी साधनहरु पुनः लिलाम गर्नु पर्ने भएमा ती सवारी साधनहरु दर्ता प्रयोजनका लागि हुन सक्दैनन्  अनिवार्य रुपमा स्क्र्याप गर्नु पर्छ ।

कार्यविधिमा पुनः लिलामी भएको सवारी साधनको दर्ता गरिनेछैन भनी स्पष्ट किटान गरिएको छ ।  

सरकारी तथा सरकारी स्वामित्वमा रहेका संघसंस्थाहरुका सवारी साधनरु लिलाम बिक्री गर्दा २० वर्ष पुगेका सवारी साधनहरु समेत अनिवार्य स्क्र्याप गर्नु पर्छ । त्यस्ता सवारी साधनहरुको बुझाउनु पर्ने कर, शूल्क, जरिवाना बुझाई लगत कट्टा गरिसकेपछि मात्र पत्रुमा लिलाम विक्री गर्नुपर्छ ।

उत्पादन वर्षले २० वर्ष पूरा भएका लिलामबाट आएका सवारीहरुको दर्ताको लागि नभई लगतकट्टाको लागि निवेदन गर्नुपर्छ ।

लिलाम गर्नु अघिनै गर्नु पर्ने

१. दर्ता गर्न नमिल्ने स्क्र्याप नै गर्नु पर्ने सवारी साधनहरु लिलाम गर्नु अघिव सवारी साधनको कर, शूल्क, जरिवाना बुझाई लगत कट्टा गरिसकेपछि पत्रुमा लिलाम बिक्री गर्नु पर्छ ।

२. लिलामको सूचना निकाल्दा नै लिलाम गरिने सवारी साधन दर्ता वा स्क्र्याप के प्रयोजनको लगाि लिलाम गरिने हो सो को स्पष्ट व्यहोरा सूचनामा उल्लेख गर्नु पर्छ ।

३. लिलाम गर्ने निकायले लिलाम गरेको सवारीको च्यासिस नम्बर, इन्जिन नम्बर, मोडेल, सिट, रंग, कम्पनी लगायतका अन्य आवश्यक कुराहरु खुलाईदिनु पर्ने कानूनी व्यवस्था छ । त्यस्तै सवारी साधनको च्यासिस नम्बर, इन्जिन नम्बर र बडी समेटेको फोटो लिलाम गर्ने निकायले प्रमाणित गरिदिनु पर्छ ।

आषा छ यो पोष्टले तपाईलाई सवारी साधन लिलाम गर्न सहज पुर्याउने छ । अरु कुनै अन्यौल गुनासा वा सुझाव भएमा तलको कमेन्ट बक्समा लेख्‍न सक्नुहुन्छ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः