Header Ads Widget

ताजा

6/recent/ticker-posts

सवारी साधनको नामसारी गर्दा लाग्ने खर्च आवश्यक कागजातहरु र प्रकृयाको सम्बन्धमा जानकारी

तपाईको नाममा दर्ता रहेको सवारी साधन बिक्री गर्नुभयो भने स्वामित्व हस्तान्तरण गर्नको लागि यातायात व्यवस्था कार्यालयमा गएर नामसारी गर्नु पर्छ । यसरी नामसारी गर्नको लागि लाग्ने शूल्क, लिएर जानुपर्ने कागजातहरु तथा नामसारी प्रकृयाको बारेमा यस पोष्टमा छोटो चर्चा गर्न गइरहेको छु ।


नामसारी गर्दा कति खर्च लाग्छ?

प्रदेश आर्थिक ऐन २०७७ को अनुसूची २ मा सवारी नामसारी सम्बन्धी दस्तुरहरु तोकिएको छ ।

निजी मोटरसाईकल स्कूटरहरुको नामसारी गर्दा रु.२००।-

सार्वजनिक मोटरसाईकल स्कूटरहरुको नामसारी गर्दा रु.३००।-

निजी कार जिप भ्यान पिकअप टेम्पो पावरटिलर हरुको नामसारी गर्दा रु.५००।-

सार्वजनिक कार जिप भ्यान पिकअप टेम्पो पावरटिलर हरुको नामसारी गर्दा रु.८००।-

निजी मझौला सवारीको नामसारी गर्दा रु.६००।-

सार्वजनिक मझौला सवारीको नामसारी गर्दा रु.१०००।-

निजी ठूला सवारीको नामसारी गर्दा रु.८००।-

सार्वजनिक ठूला सवारीको नामसारी गर्दा रु.१५०००।- 

पर्यटक सवारी र संस्थानको सवारी दस्तुत सार्वजनिक सवारी सरह लाग्नेछ । नामसारी गर्नु पूर्व चालु आर्थिक वर्ष सम्मको कर तिरेको हुनु पर्छ भने नविकरण अवधि बहाल रहेको हुनु पर्छ ।


नामसारी गर्दा आवश्यक कागजातहरुः

सवारीको नामसारी गर्न यातायात व्यवस्था कार्यालय जाँदा तल बताईए अनुसारका कागजातहरु तयार गरि लैजानु पर्छ ।

१. सवारी धनी र क्रेताको सक्कल नागरिकता प्रमाणपत्र

२. क्रेताको हालसालै खिचिएको ३ प्रति पासपोर्ट साईजको फोटो 

२. सवारी साधनको सक्कल ब्लूबुक

३. सवारी दर्ता फाईल

४. नामसारी दस्तुर तिरेको रसिद

५. अवधि कायम रहेको कम्तिमा तेश्रो पक्ष बीमाको पोलिसी पेपर

६. नामसारी फाराम


सवारी धनी व्यक्ति नभई कुनै संस्था हो भने संस्थाको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सवारी साधन बिक्री गर्न प्रतिनिधि तोकिएको विषयको यातायात कार्यालयलाई लेखिएको पत्र र संस्थाको छाप लिई जानुपर्छ ।

व्यक्तिले नभई कुनै संस्थाले सवारी साधन किनेको हो भने पनि संस्थाको दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, सवारी साधन खरिद गर्ने निर्णयको माइन्यूटको प्रमाणित फोटोकपी तथा प्रतिनिधि तोकिएको विषयको यातायात कार्यालयलाई लेखिएको पत्र र संस्थाको छाप लिई जानुपर्छ ।

लिलाम बिक्री भई नामसारी गर्नु परेको अवस्थामा यस ब्लगमा छुट्टै पोष्टहरु छन्, ती समेत पढ्नु होलाः

लिलाम सम्बन्धि लेखहरु


नामसारी गर्ने प्रकृया

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४१ मा सवारीको नामसारी सम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा "यस ऐन बमोजिम दर्ता भएको सवारीको धनीले आफ्नो सवारी अरु कसैलाई दान बकस दिई वा बिक्री गरी वा अन्य कुनै किसिमले स्वामित्व हस्तान्तरण गरेमा पैतीस दिनभित्र सो सवारीको नामसारीको लागि दर्ताको प्रमाणपत्र र सवारी साधन कर तिरेको प्रमाण समेत संलग्न राखी तोकिएको ढाँचामा अधिकार प्राप्त अधिकारी समक्ष दिवेदन दिनु पर्नेछ ।" भनी लेखिएको भएको छ ।

ऐनको सो व्यवस्था बमोजिम नामसारी गर्नको लागि तल बताईए अनुसार काम गर्नु पर्छ ।

१. नामसारी फाराम लिई त्यसमा किन्ने र बेच्ने दुबैले औठाछाप लगाई दस्तखत गरेर सोधिए बमोजिम सवारी धनी तथा क्रेताको विवरण तथा सवारी साधनको विवरण भर्नु पर्छ । फाराममा रु.१०।- को हुलाक टिकट टाँस्नुपर्छ ।



२. चालु आर्थिक वर्ष सम्मको कर तिरी नविकरण नगराएको भए सो वापतको समेत गरी नविकरण दस्तुर बैंकमा बुझाउने र बैंकबाट प्राप्त भौचर यातायात कार्यालयको लेखा काउण्टरमा दिई रसिद लिने । 



३. दस्तुर बुझाएको रसिदको तल नामसारी फाराम र त्यसको तल सवारी साधन लिने र दिने दुबैको नागरिकता प्रमाणपत्रको फोटोकपी र त्यो भन्दा मुनी बीमा गरेको पोलिसि पेपर स्टिच गरी सवारी दर्ता फाईलमा राखि सवारी साधनको प्राविधिक निरीक्षण गराउने ।


४. प्राविधिक निरीक्षण पश्चात् आफ्नो सवारीको लट अनुसार तोकिएको फाँटमा फाईल र ब्लूबुक दिने ।

५. फाँटबाट तपाईले दिनुभएको कागजातहरु रुजु गर्दा सबै ठिक छ भने नामसारी फाराममा दस्तखत गरी ढड्डा (रजिष्टर) तथा ब्लूबुकमा किन्ने मान्छेको फोटो टाँसी, अभिलेख जनाई फाँट प्रमुखकहाँ पेश गर्छन् ।

६. फाँट प्रमुखले सवारी धनी र बिक्रीको भुक्तानी भइसकेको एकिन गरी नामसारी फाराममा, दर्ता कार्डमा, ढड्डामा र ब्लूबुकमा दस्तखत गरी नामसारी प्रमाणित गरिदिन्छन् ।

७. यस पश्चात् ब्लूबुकमा दस्तखत गर्ने फाँटप्रमुख तथा कार्यालयको छाप लगाएपछि नामसारीको प्रकृया समाप्त हुन्छ ।


आषा छ यो पोष्टले सवारी साधनको नामसारी गर्ने सम्बन्धमा तपाईलाई केही जानकारी दियो नै होला । थप केही जान्न मन भए तल कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः