Header Ads Widget

ताजा

6/recent/ticker-posts

अञ्चलिकरण वा ठाउँसारी वा सरुवा सहमतीको लागि के के गर्ने? कति लाग्छ?

 कुनै एउटा कार्यालय वा प्रदेशमा दर्ता भएको सवारी साधन अन्य प्रदेशमा लगेर त्यहाँ दर्ता गर्नु पर्दा हाल दर्ता रहेको कार्यालयबाट सरुवा सहमती लिनु पर्दछ । उदाहरएको लागि बागमती प्रदेशमा दर्ता भएको मोटरसाईकल लुम्बिनीमा लगेर त्यहीँको नम्बर प्लेट लिएर संचालन गर्नु पर्ने हो भने बागमतीको यातायात कार्यालय गुर्जुधाराबाट सरुवा सहमती लिनु पर्छ ।

विगतमा सवारी साधनहरु अन्चल अनुसार दर्ता हुने हुँदा सरुवा सहमती लाई अञ्चलिकरण पनि भन्ने गरिन्थ्यो वा मोटरसाईकलको ठाउँसारी भन्ने गरिन्थ्यो । जे भने पनि यी सबै एउटै कुरा हुन् ।

त्यस्तै लुम्बिनी, नारायणी, कोशी आदि ठाउँमा दर्ता भई चलिरहेका मोटरसाईकलहरु बागमती प्रदेशमा ल्याई दर्ता गर्नु पर्यो भने ती कार्यालयबाट सरुवा सहमती ल्याएर गुर्जुधाराको यातायात कार्यालयमा सम्पर्क राख्‍नु पर्छ ।

हाल सरुवा सहमती लैजाँदा कुनै दस्तुर  लाग्दैन - निःशूल्क हो ।

अन्यत्रबाट सरुवा सहमती ल्याएर बागमतीमा सरुवा दर्ता गर्दा रु ५००।- दर्ता शूल्क र रु २०।- प्रदुषण शूल्क तिर्नु पर्छ । 


सरुवा सहमती बनाई लैजाँदा

बागमती अञ्चल वा बागमती प्रदेशमा दर्ता भएका सवारी साधनहरु अन्य यातायात कार्यालयहरुमा सरुवा सहमती लगी दर्ता गराउनु पर्दा तल बताइए बमोजिम सरुवा सहमती प्राप्त गर्न सकिन्छ ।

१. आफ्नो मोटरसाईकलको चालु आर्थिक वर्ष सम्मको कर / नविकरण तिरेर ब्लूबुकमा जनाएको हुनु पर्छ । कर/नविकरण बाँकी भए पहिले त्यो काम सकाउनुहोस् ।

२. मोटरसाईकलको फाइलको सबै कागजातहरुको फोटोकपी गर्नुहोस् । फाइल तपाईले बुझेर नलगेको भए कार्यालयमा फाइल खोज्‍न लगाउनुहोस् । फाइलमा भएका कागजातहरुमा सरुवा सहमती लैजाँदा देहायका कागजातहरु अत्यन्त महत्वपूर्ण छन् ।

  • दर्ता कार्ड, 
  • भन्सार पज्ञापन पत्र, 
  • भन्सार रसिद
  • इन्जिन चेसिसको फोटो
  • दर्ता फाराम
  • प्रत्येक विक्रीको भ्याट बील
  • प्रत्येक नामसारीको नामसारी फाराम
  • प्रत्येक रसिदहरु

३. ब्लू बुकको फोटोकपी गर्नुहोस् ।

४. सरुवा सहमती फाराम भरेर त्यसमा रु १०।- को हुलाक टिकट टासेर सबै फोटोकपीहरुलाई स्टिच गरी एकतृत राख्नुहोस् ।

४. माथि बताइएका सबै कागजातहरुको फोटोकपी र सक्कल लिएर सवारी धनी आफैँ सक्कल नागरिकताका साथ आफ्नो मोटरसाईकलको लट अनुसारको सम्बन्धित फाँटमा जानुहोस् ।

५. फाँटका कर्मचारीले सबै कागजातहरु रुजु गरी, कर/नविकरण तिरेको एकिन गरी सरुवासहमती फाराममा दस्तखत गरी फाँटप्रमुखकहाँ पठाउँछन् । 

६. फाँटप्रमुले सरुवा सहमतीमा प्रमाणित गरिदिएपछि सबै कागजात लिएर पुनः फाँटमा वा दर्ता गर्ने ठाउँ जहाँ तोकिएको छ त्यहाँ लगेर चलानी गराउनुहोस् । चलानी गर्नेले सरुवा सहमती खामबन्दी गरी लाहा छाप लगाइ सिलबन्दी गरिदिन्छन् । उक्त सिलबन्दी खाम बुझेको दस्तखत गरी लैजान सक्नुहुन्छ ।

यसरी सरुवा सहमती चलानी भएको ३५ दिन भित्र लगेर दर्ता गराईसक्नु पर्छ । अन्यथा जरिवाना लाग्छ वा अवधि धेरै भइसकेको छ भने दर्ता नगरी फिर्ता पठाइदिन सक्छन् ।


सरुवा सहमती ल्याई दर्ता गर्दा

अन्य अञ्चलमा दर्ता भएका वा अन्य प्रदेशमा दर्ता भएका मोटरसाईकल सरुवा सहमती ल्याई बागमतीमा दर्ता गराउन तल बताइए बमोजिम गर्नु पर्दछ ।

१. सरुवा सहमती लाहा छाप लगाएको सिलबन्दी खाम हुन्छ । त्यस्तो खाम कतै नखोली यातायात व्यवस्था कार्यालयमा ल्याउनु पर्दछ । खुल्ला आएको सरुवा सहमती वा प्याकेट फुटेको सरुवा सहमती दर्ता हुँदैन ।

२. सरुवा सहमतीको खाम गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा ल्याएर प्रशासन शाखा वा दर्ता अधिकारीलाई खोल्न लगाई दर्ताको लागि तोक लगाउन दिनु पर्दछ ।

३. दर्ताको लागि तोक प्राप्त भए पश्चात् दर्ता फाँटबाट कागजातहरु रुजु गरी एउट एकिन पत्र बनाई दिन्छन् । एकिन पत्र बनाउँदा कुनै कागजातहरु छुटेको वा द्वीविधा भएका विषयहरु छन् भने ती पनि पत्रमा उल्लेख भएको हुन्छ ।

४. जुन कार्यालयबाट सरुवा सहमती ल्याएको हो त्यही कार्यालयमा सो एकिन पत्र पठाएपछि त्यहाँबाट त्यसको जवाफ प्राप्त हुनु पर्छ ।

५. एकिन पत्रको जवाफ प्राप्त भए पछि सवारी धनी सक्कल नागरिकता र मोटरसाईकल लिएर कार्यालयमा जानु पर्छ ।  

६. दर्ता फाराम भरेर प्राविधिक शाखामा गई मोटरसाईकलको प्राविधिक निरीक्षण गराएपछि दर्ता फाँटमा गई मोटरसाईकलको लागि बागमती प्रदेशको दर्ता नम्बर लिनु पर्दछ ।

७. दर्ता नम्बर प्राप्त भए पश्चात् सरुवा दर्ता शूल्क रु ५००।- र प्रदुषण शूल्क रु २०।- तिरेको रसिद संलग्‍न राखी पुनः दर्ता फाँटमा पेश गर्नु पर्दछ ।

८. दर्ता फाँटबाट कागजात रुजु गरी ढड्डा, फाइल तथा ब्लू बुकमा बागमतीको नयाँ नम्बर जनाई फाँटप्रमुखबाट प्रमाणित गराउनु पर्दछ ।

यसरी प्रमाणित भई सकेपछि सरुवा दर्ता सम्पन्न भयो । अब नयाँ नम्बर प्लेट बनाउन लगाई मोटरसाईकलमा जडान गरेर प्रयोग गर्न मिल्छ ।

आफैँ सकिन्छ - आफैँ गरौँ ।  बिचौलिया मुक्त सेवा प्रवाहको लागि कार्यालयलाई सहयोग गरौँ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः