Header Ads Widget

ताजा

6/recent/ticker-posts

ब्लूबुक हरायो भने प्रतिलिपी कसरी लिने ? प्रकृया, आवश्यक कागजात, दस्तुर सम्बन्धि जानकारी (भिडियो सहित)

ब्लूबुक हरायो -  कुनै कारणबश आफ्नो मोटरसाईकल वा गाडीको दर्ता प्रमाण पत्र (ब्लूबुक) हरायो भने के के गर्नु पर्छ र कसरी अर्को ब्लूबुक पाउन सकिन्छ भन्ने सम्बन्धमा यस पोष्टमा चर्चा गर्दैछु । 

प्रकृयाः
१. ट्राफिक प्रहरी कार्यालयबाट सिफारिशपत्र लिने ।
२. यातायात कार्यालयमा गई प्रतिलिपी दस्तुर बुझाई रसिद लिने ।
३. यातायात कार्यालयको फाईल भण्डारबाट आफ्नो सवारी साधनको फाईल लिने ।
४. प्रतिलिपीको लागि दिइने दरखास्त फाराम भरेर हुलाक टिकट समेत टाँस्‍ने ।
५. ट्राफिक सिफारिश, दरखास्त फाराम र तेश्रोपक्ष बीमा गरेको पोलिसी पेपर फाइलमा राखी सम्बन्धित फाँटमा सम्पर्क गर्ने ।
६. फाँटबाट प्रतिलिपी ब्लूबुक लिएर जाने ।

यातायात कार्यालय जाँदा आफ्नो सक्कल नागरिकता प्रमाणपत्र लिएर जान नभूल्नु होला ।



प्रदेश सवारी तथा यातायात व्यवस्था (संशोधन सहित) ऐन २०७६ को दफा ४७ अनुसार "दर्ता प्रमाणपत्र हराएमा वा अन्य कुनै कारणवस नासिएमा नजिकको ट्राफिक प्रहरी कार्यालयको सिफारिश सहित निवेदन दिनु पर्नेछ।" भन्ने उल्लेख छ ।

ट्राफिक सिफारिश

ब्लूबुक हरायो भने सबैभन्दा पहिले आवश्यक पर्ने ट्राफिक सिफारिश पत्र हो ।  ब्लूबुक कतै खसेर हराएको अवस्थामा कसैले भेटाएर प्रहरीलाई बुझाइदियो भने त्यस्तो ब्लूबुकहरु ट्राफिक कार्यालयमा जान्छ । काठमाडौँको हकमा त्यस्ता ब्लू बुकहरु बग्गीखाना पुतलिसडकमा हुन्छन् । त्यसैले ब्लुबुक हराउँदा सबैभन्दा पहिले बग्गीखाना गएर निवेदन दिनु पर्छ र त्यहाँबाट आफ्नो ब्लूबुक फिर्ता पाउन सकिन्छ ।





कुनै कसूरमा ट्राफिक प्रहरीले चिट काटेर कारवाहीमा परेको हो भने उक्त कसूर बापतको जरिवाना तिरेर ट्राफिक प्रहरी कार्यालयबाट नै ब्लूबुक फिर्ता पाउन सकिन्छ । काठमाडौँको हकमा त्यस्तो चिटबापतको जरिवाना यातायात कार्यालयमा भुक्तानी गरेपछि रसिद लिएर बग्गिखाना जानु पर्छ । त्यहाँ त्यो रसिद देखाएपछि कारवाही रेकर्डबाट हटाएर ब्लूबुक फिर्ता पाउन सकिन्छ ।

यदि कुनै कारबाहीमा परेको नभई हराएको हो भने पनि कारवाहीमा परेको छैन भन्ने प्रमाण स्वरुप ट्राफिक सिफारिश पत्र आवश्यक पर्छ । सवारीधनी आफैँ नागरिकता प्रमाणपत्र लिएर बग्गीखानामा निवेदनको फाराम भरेर बुझाए पश्चात् १ वा २ दिन पछि सिफारिश पत्र लिन जानु पर्छ ।

आवश्यक कागजात

ट्राफिक सिफारिश पत्र प्राप्त गरेको १५ दिन भित्र ब्लूबुकको प्रतिलिपी लिई सक्नु पर्छ । ब्लूबुकको प्रतिलिपी  लिनको लागि देहायको कागजात लिई यातायात व्यवस्था कार्यालयमा जानु पर्छ ।
  • ट्राफिक सिफारिश पत्र
  • प्रतिलिपी पाउँ भन्ने निवेदन
  • १ प्रति पासपोर्ट साईजको फोटो
  • प्रतिलिपी वापत रु ५००।- तिरेको सक्कल रसिद
  • तेश्रोपक्ष बीमाको पोलिसी पेपर
  • सवारीसाधनको सक्कल फाईल

रसिद - प्रतिलिपी वापतको राजश्व रकम रु ५००।- काठमाडौँको हकमा गुर्जुधारामा यातायात व्यवस्था कार्यालयसँगै रहेको ग्लोबल आइ एम ई बैंक थानकोट शाखाको राजश्व काउण्टरमा भौचर भरी नगद जम्मा गरेपछि फिर्ता पाएको बैंक भौचर सङ्गैको झ्यालमा दिएर रसिद लिनु पर्छ ।


रसिदको नमूना



बैंक भौचर भर्दा आफ्नो मोटरसाईकलको लट नम्बर तथा मोटरसाईकल नम्बर गलत नहुने गरी एकिन गरेर भर्नु पर्छ । त्यस्तै भौचर दिएर रसिद लिँदा पनि रसिदमा आफ्नो मोटरसाईकलको नम्बर सही छ वा छैन रुजु गर्नु पर्छ । राजश्वमा जम्मा गरेको रकम फिर्ता पाउन नसकिने हुँदा आफुले रसिद लिँदा नै रुजु गरिहाल्नु पर्छ

सवारी साधनको सक्कल फाइल - प्रत्येक मोटरसाईकलको भन्सार प्रज्ञापन पत्र, भन्सार रसिद, सक्कल भ्याट बील तथा दर्ता फाराम नामसारी फाराम जस्ता महत्वपूर्ण कागजात राखेको फाइल हुन्छ । 


सवारी दर्ता फाईलको नमूना


त्यस्तो फाइल यातायात व्यवस्था कार्यालयले केही वर्ष देखि सवारीधनीलाई नै जिम्मा लगाएर दिई पठाउने गरेको छ । सो फाइल आफुसँग छ भने ब्लूबुकको प्रतलिपी लिन जाँदा साथै लिएर जानु पर्छ । यदि त्यो फाइल आफुले लगेको छैन भने कार्यालयको फाइल भण्डारणमा गएर खोज्‍न लगाउनु पर्छ ।

बीमा - ब्लूबुक नविकरण गर्न तेश्रोपक्ष बीमा अनिवार्य भएको हुँदा बीमा गरेको म्याद बाँकी भए त्यही बीमाको कागज र म्याद गईसकेको भए नयाँ बीमा गरेर पोलिसी पेपर लिनु पर्छ ।




निवेदन - १० को हुलाक टिकट टाँसेर ब्लूबुकको प्रतिलिपी पाउँ भन्ने विषयको निवेदन फाइलमा राख्‍नु पर्छ । 

प्रतिलिपी पाउँ भन्ने निवेदन
दरखास्तको नमुना



ब्लूबुकको प्रतलिपी

माथि बताए बमोजिमको सबै कागजातहरु तयार गरी सवारी धनीले साथै लिएर आफ्नो मोटरसाईकलको लट अनुसारको तोकिएको फाँटमा जानु पर्छ । त्यहाँ खटिएका कर्मचारीलाई फाइल दिएपछि उनीहरुले रुजु गरेर नयाँ ब्लूबुक तयार गरी फाइलको दर्ता कार्ड र फाँटको मूल ढड्डामा अभिलेख जनाएर प्रमाणित गर्न फाँट प्रमुखकहाँ पठाउँछन् । 

फाँट प्रमुखले सक्कल नागरिकता प्रमाणपत्र हेरी सवारीधनी एकिन गरी कागजपत्र रुजु गरे पश्चात् ढड्डा र दर्ता कार्डमा अभिलेख प्रमाणित गरि नयाँ ब्लूबुकमा दस्तखत गरी पठाइदिन्छन् । त्यसपछि त्यो ब्लूबुका कार्यालय तथा अधिकृतको छाप लगाए पछि ब्लूबुकको प्रतलिपी तयार भयो ।


आफ्नो काम आफैँ गरौँ नक्कली र ठगिनबाट बचौँ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः