Header Ads Widget

ताजा

6/recent/ticker-posts

सवारीधनी बाहिर वा विदेशमा भएको अवस्थामा नेपालमा रहेको सवारी साधन कसरी नामसारी गर्न सकिन्छ?

सवारीधनी विदेशमा भएको र नेपालमा उसको नाममा रहेको मोटरसाईकल वा चारपाङ्ग्रे गाडी विक्री गर्नु पर्ने हुँदा नामसारी कसरी गर्ने भन्ने प्रश्न मैले प्राय नै भेट्ने गरेको छु । त्यसकारण उक्त प्रश्नलाई यस पोष्टमा जवाफ दिने कोशिस गर्दैछु ।



सवारी धनी नेपालमा नहुँदा पनि कर तिर्ने र ब्लूबुक नविकरण गर्ने कर्य अरु जसकसैले गरिदिन सक्छ । ती कामहरुका लागि यातायात व्यवस्था कार्यालयहरुमा सवारी धनीको खोजी हुँदैन तर तल बताइएका कामहरुमा भने सवारी धनीको भौतिक उपस्थिति आवश्यक पर्छ ।

  • सवारी दर्ता किताब - ब्लू बुक हरायो वा नष्ट भयो भने ब्लू बुकको प्रतिलिपी लिनको लागि
  • सरुवा सहमती ल्याएर नयाँ यातायात व्यवस्था कार्यालयमा दर्ता गर्नको लागि
  • सवारी साधनमा रंग लगायत कुनै हेरफेर गर्नु पर्ने भयो भने उक्त अनुमती वा कायम गर्नको लागि
  • ५ वर्ष भन्दा बढी नविकरण नगराएको कारणबाट दर्ता खारेज भई पुनः दर्त गर्नको लागि
  • सवारी साधन बिक्री गरी नामसारी गर्नको लागि
यस्ता केही कामहरुका लागि सवारी धनीको यातायात व्यवस्था कार्यालयमा भौतिक उपस्थिति अनिवार्य हुन्छ ।

सवारी धनी विदेशमा हुने र नेपालमा नामसारी गर्नु पर्ने अवस्थामा उत्पन्न हुने यो समस्याको समाधान स्वरुप यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ को निर्देशन ११.१.८ को बुँदा नं २८ मा व्यवस्था भएको छ ।

"सवारी धनी देशबाहिर वा भित्र बसोबास गरी सम्बन्धित कार्यालयमा उपस्थित हुन नसकेको अवस्थामा निजको प्रचलित कानून बमोजिम जारी भएको अधिकृत वारेसनामा पेश गरेपछि मात्र सवारी साधन विक्री वा नामसारी गर्न सकिनेछ । स्वदेश भित्रको हकमा सम्बन्धित अदालतबाट जारी भएको अधिकृत वारेसनामा हुनुपर्ने तथा विदेशमा रहेको सवारीधनीका हकमा विदेशस्थित नेपाली राजदुतावास, नियोग, महाबाणिज्य दूतावासबाट जारी भएको आधिकारिक अधिकृत वारेसनामा पेश गर्नुपर्नेछ ।"

माथि बताइए अनुसारको व्यवस्था बमोजिम सवारी धनी विदेशमा रहेको हो भने त्यो देशमा रहेको नेपाली राजदुताबासमा गई अधिकृत वारेसनामाको लागि निवेदन दिनु पर्दछ । राजदुतावासबाट वारेसनामा जारी भए पछि उक्त वारेसनामा नेपालमा पठाई तोकिएको वारेसले तपाईको तर्फबाट नामसारी दस्तखत गरिदिन सक्छ ।

सवारी धनी विदेशमा रहेको नभई नेपालभित्रै अन्यत्र कतै बसोबास गर्दै हो र नामसारी गर्नुपर्ने कार्यालयमा उपस्थिति हुन नसक्ने हो भने कुनै वकिलसँग परामर्श गरी अदालतबाट अधिकृत वारेसनामा जारी गर्न सकिन्छ र सो वारेसनामाको आधारमा सवारी साधनको नामसारी गर्न सकिन्छ।

यो पेजमा बताईएको जानकारी तपाईहरुका लागि उपयोगी हुनेछन् भन्ने अपेक्षा लिएको छु । थप जानकारी आवश्यक परेमा वा छलफल गर्न चाहनुहुन्छ भने तलको कमेन्ट बक्समा लेख्‍न नभूल्नु होला । 

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः