Header Ads Widget

ताजा

6/recent/ticker-posts

लिलाममा उठाएको सवारी साधनहरु बागमतीमा कसरी दर्ता गर्ने?

 लिलाममा सवारी साधन उठाउँदै हुनुहुन्छ?  सरकारी कार्यालयले वा वैदेशिक नियोगले अथवा अन्य कुनै पनि संघ संस्थाले लिलाम गरेका सवारी साधनहरु उठाई बागमतीमा दर्ता गर्न लागिरहनु भएको छ भने यो पेजको जानकारी तपाईका लागि उपयोगी हुनेछन् ।

लिलामका सवारी साधनहरु खरिद गर्दा केही कुराहरुमा ध्यान पुर्‍याउन सकियो भने पछि तिनको दर्ता, नामसारी गर्ने कार्य छिटो र झण्झट रहित हुन्छ ।



यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ बमोजिम लिलामका सवारी भन्नाले प्रचलित नेपाल कानून बमोजिम बढाबढ वा घटाघट गरी विक्री गरेको सवारीलाई जनाउँछ । यस बाहेक लिलाम बिक्री भएको भनी उल्लेख भएका सवारी साधनहरु हुन् वा भन्सार प्रज्ञापनपत्रमा लिलाम भनी उल्लेख गरिदिएको सवारी साधनहरु हुन्, ती सबैलाई लिलामका सवारी भनिन्छ । 

देहायका अवस्थाहरुमा सवारी साधनहरु लिलाम हुन सक्छन्ः

१. भन्सार कार्यालय एवं राजश्व अनुसन्धान कार्यालयहरुबाट भन्सार चोरी पैठारी अन्तर्गत आएका सवारी साधनहरु

२. सरकारी कार्यालयहरु तथा अन्य निकाय एवं संघ संस्थाबाट पुरानो भई काम नलाग्ने अवस्थाका सवारी साधनहरु

३. बित्तीय संस्थाहरुबाट समयमा ऋण नतिरेको कारणबाट ऋणीबाट संस्थाले कब्जामा लिएका सवारी साधनहरु

तर, जुनसुकै कारणबाट आएको भएपनि यातायात व्यवस्था कार्यालयहरुले सबै लिलामका सवारीलाई एकै वर्गमा राखी कारवाही अगडि बढाउँने हुँदा लिलामको लागि आवेदन दिँदा यो विषय ख्याल गर्नु पर्छ ।

लिलामका सवारी साधन उठाउँदा ध्यान दिनु पर्ने कुराहरुः

क. लिलाम सकार गरेको सबै सवारी साधनहरु दर्ता गर्न मिल्ने नहुन सक्छन् । त्यसकारण कुन कुन सवारी साधन दर्ता गर्न मिल्ने हो भन्ने बारेमा लिलाम गर्ने कार्यालयले लिलामको सूचनामा नै खुलाईदिएको हुनु पर्छ । लिलामको सूचनामा नै त्यो विषय खुलाईएको छैन भने कार्यालयमा सम्पर्क गरी बुझ्नुपर्छ । देहायको अवस्थाका सवारी साधनहरु दर्त गर्न मिल्दैनन् र स्क्र्याफ गर्नुपर्छ ।

१. उत्पादन वर्षले २० वर्ष पुरा भएका सवारी साधनहरु

२. पहिले नै लिलाम दर्ता भएका र हाल फेरी लिलाम हुन लागेका सवारी साधनहरु

३. सरकारी तथा सरकारी स्वामित्वमा रहेका संघसंस्थाहरुले कर, शूल्क, जरिवाना बुझाई लगत कट्टा गरिसकेपछि पत्रुमा लिलाम बिक्री गरेका सवारी साधनहरु

ख. यदि कुनै संस्था/कार्यालयले पत्रुमा लिलाम गर्न लागेको छ भने ती सवारी साधनको कर, शूल्क, जरिवाना बुझाई लगत कट्टा गरिसकेको हो वा होइन भन्ने कुरा पनि बुझ्नु पर्छ । लगत कट्टा भईनसकेको भए त्यस्ता सवारी साधनहरुको बक्यौता कर/जरिवाना तिर्नु पर्ने हुन्छ ।

ग. लिलाम गर्ने निकायले लिलाम गरेको सवारीको च्यासिस नम्बर, इन्जिन नम्बर, मोडेल, सिट, रंग, कम्पनी लगायतका अन्य आवश्यक कुराहरु खुलाईदिनु पर्ने कानूनी व्यवस्था छ । त्यस्तै सवारी साधनको च्यासिस नम्बर, इन्जिन नम्बर र बडी समेटेको फोटो लिलाम गर्ने निकायबाट प्रमाणित गरिएको हनु पर्छ । तसर्थ यी कुराहरुको जानकारी राखी समयमै आवश्यक कागाजतहरु प्राप्त गर्न सकियो भने यातायात कार्यालयमा दर्ता/नामसारी गर्न सहज हुन्छ ।

घ. बागमती प्रदेशभित्र कुनैपनि कार्यालय/निकाय/संघ संस्थाहरुले लिलाम गरेका सवारी साधनहरुको दर्ता हेटौँडामा रहेको यातायात व्यवस्था सेवा कार्यालयमा मात्र दर्ता हुने कानूनी व्यवस्था छ । त्यसरी हेटौँडामा लिलामी दर्ता भएका सवारी साधनहरु फेरी काठमाडौँ वा अन्यत्रका यातायात व्यवस्था कार्यालयमा सरुवा दर्ता हुँदैनन्

(साविकमा यातायात व्यवस्था कार्यालय नारायणीमा दर्ता हुने गरेका लिलामका सवारी साधनहरु यातायात व्यवस्था विभागको (चलानी नं ११५७ मिति २०७६।०२।२० को पत्रबाट लेखि पठाइए बमोजिम) मिति २०७६।०२।१७ को निर्णयानुसार कार्यविधि निर्देशिका संशोधन गरी "साविक बागमती अञ्चलमा दर्ता भएको सवारी साधनको हकमा लिलामी भएका सवारी साधन यातायात व्यवस्था कार्यालय, हेटौँडामा लिलामी दर्ताको कार्य गर्नु पर्नेछ" भनी कायम गरिएको । )



आषा छ यो पेजमा भएका जानकारीहरु तपाईका लागि उपयोगी भए होलान् । थप छलफल केही गर्नु पर्ने भए तलको कमेन्ट बक्समा लेख्‍नुहोला ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः