Header Ads Widget

ताजा

6/recent/ticker-posts

काठमाडौँबाट बागमती अञ्चल वा बागमती प्रदेशमा दर्ता रहेका सवारी साधन अरु प्रदेशमा ठाउँसारी गरी लैजाँदा लाग्‍ने शूल्क आवश्यक पर्ने कागजात तथा प्रकृया

काठमाडौँबाट बागमती अञ्चल वा बागमती प्रदेशमा दर्ता रहेका सवारी साधन अरु प्रदेशमा ठाउँसारी गरी लैजाँदा लाग्‍ने शूल्क आवश्यक पर्ने कागजात तथा प्रकृयाका बारेमा यस पोष्टमा छोटो चर्चा गर्दैछु । आषा छ उपयोगी हुनेछ ।

काठमाडौँबाट केही वर्षको लागि अन्यत्र जाँदै हुनुहुन्छ वा बसाई सराई गरेर जाँदै हुनु हुन्छ ?  बागमती प्रदेशमा वा बागमती अञ्चलको नम्बर प्लेटमा तपाईको नाममा दर्ता रहेको सवारी साधन ठाउँसारी गरी लैजान सक्नुहुन्छ । काठमाडौँको यातायात कार्यालयबाट सरुवा सहमती लैजाने र तपाई जाने प्रदेशको यातायात कार्यालयमा लगेर सरुवा दर्ता गर्ने । प्रकृया सजिलो छ र खर्चिलो पनि छैन ।

यसरी सरुवा सहमती लिएर आफु बसोबास गर्ने ठाउँकै यातायात कार्यालयमा दर्ता गर्नुभयो भने तपाईलाई केही कुराहरुमा सहज हुन सक्छः

१. कुनै समयमा यदि ब्लू बुक हरायो भने काठमाडौँ आइरहनु पर्दैन, त्यहीबाटै प्रतिलिपी पाईन्छ।

२. बर्षै पिच्छे कर तिर्न र नविकरण गर्न काठमाडौँ आइरहनु पर्दैन । फेरी अरु प्रदेशहरुको करको दर बागमतीको भन्दा कम छ । 

३. सवारी साधन बेच्‍न चाहनु भयो भने त्यहीँबाट नामसारी गर्न मिल्छ ।

४. कुनै बेला कारणबश ट्राफिक नियम उल्लंघन भयो र ट्राफिक प्रहरीले ब्लूबुक खिचेर चिट काटिदियो भने त्यसको जरिवाना तिर्ने तथा ब्लूबुक फिर्ता लिन काठमाडौँ आइरहनु परेन ।


कति खर्च लाग्छ सरुवा सहमती बनाउन ?

निशूल्क हो । सरुवा सहमती बनाई बाहिर लगेर दर्ता गर्ने की नगर्ने भन्नेमा खर्च कति लाग्छ भन्ने कुराले पनि पक्कै भूमिका खेल्छ । धेरै मित्रहरु त यस बारेमा अनभिज्ञ भएका कारण पनि ठाउँसारी गर्ने विषयमा सोच बनाउनु भएकै हुँदैन ।


सरुवा सहमतीको लागि कुनै राजश्व वा दस्तुर तोकिएको छैन, यो निःशूल्क हो ।


तर चालु आर्थिक वर्ष सम्मको कर तिरेर तपाईको ब्लूबुक नविकरण भएको भने हुनु पर्छ । सवारी कर र नविकरण क्लियर छ भने सरुवा सहमती लैजाँदा अन्य कुनै थप शूल्क लाग्दैन ।


कति समय लाग्छ सरुवा सहमती प्राप्त गर्न ?

कर तिरेर नविकरण भैसकेको हो भने धेरै समय लाग्दैन । सबै कागजात तयार गरेर सम्बन्धित फाँटमा लगेपछि फाँटका कर्मचारी अरु काममा व्यस्त नभएको अवस्थामा आधा घण्टामा नै काम सकिन्छ


सरुवा सहमती लिन सवारी साधन पनि यातायात कार्यालय लैजानु पर्छ?

पर्दैन । सरुवा दर्ता गर्ने कार्यालयमा दर्ता गर्दा सवारी साधन लैजानु पर्छ तर सरुवा सहमती लैजाँदा यातायात कार्यालयमा सवारी साधन लैजानु पर्दैन

 

आवश्यक कागजात के के हुन् ?

१. सक्कल सवारी दर्ता फाईल र त्यसमा भएका सबै कागजातहरुको एक प्रति फोटोकपी
२. चालु आ.ब. सम्म कर तिरेर नविकरण भएको सक्कल ब्लूबुक र त्यसको प्रतलिपी
३. सवारी धनीको सक्कल नागरिकता प्रमाणपत्र 

(सवारी धनी आफैँ जानु पर्छ । अरुलाई नपठाउनु होला । यातायातको ढड्डाहरुमा अभिलेख नजनाईएको अवस्था भयो भने पछि कानूनी जटिलतामा पर्ने जोखिम हुन्छ ।)

के के गर्नु पर्छ?  प्रकृया ?

१. आफ्नो सवारी साधनको चालु आर्थिक वर्ष सम्मको कर / नविकरण तिरेर ब्लूबुकमा जनाएको हुनु पर्छ । कर/नविकरण बाँकी भए पहिले त्यो काम सकाउनुहोस् ।




२. सवारी दर्ता फाइलको सबै कागजातहरुको फोटोकपी गर्नुहोस् । फाइल तपाईले बुझेर नलगेको भए कार्यालयमा फाइल खोज्‍न लगाउनुहोस् । 



फाइलमा भएका कागजातहरुमा सरुवा सहमती लैजाँदा देहायका कागजातहरु अत्यन्त महत्वपूर्ण छन् ।

  • दर्ता कार्ड, 
  • भन्सार पज्ञापन पत्र, 
  • भन्सार रसिद
  • इन्जिन चेसिसको फोटो
  • दर्ता फाराम
  • प्रत्येक विक्रीको भ्याट बील
  • प्रत्येक नामसारीको नामसारी फाराम
  • प्रत्येक रसिदहरु

३. ब्लू बुकको फोटोकपी गर्नुहोस् । ब्लूबुकको दर्ता पाना, सवारी विवरण पाना, प्रत्येक नामसारीको पानाहरु, प्रत्येक नविकरण जनाएको पानाहरु र कर जनाएको पानाहरुको फोटोकपी गर्नुपर्छ ।

४. सरुवा सहमती फाराम भरेर त्यसमा रु १०।- को हुलाक टिकट टासेर सबै फोटोकपीहरुलाई स्टिच गरी एकतृत राख्नुहोस् ।


४. माथि बताइएका सबै कागजातहरुको फोटोकपी र सक्कल लिएर सवारी धनी आफैँ सक्कल नागरिकताका साथ आफ्नो सवारी साधनको लागि तोकिएको सम्बन्धित फाँटमा जानुहोस् ।

५. फाँटका कर्मचारीले सबै कागजातहरु रुजु गरी, कर/नविकरण तिरेको एकिन गरी सरुवासहमती फाराममा दस्तखत गरी फाँटप्रमुखकहाँ पठाउँछन् । 

६. फाँटप्रमुले सरुवा सहमतीमा प्रमाणित गरिदिएपछि सबै कागजात लिएर पुनः फाँटमा वा दर्ता गर्ने ठाउँ जहाँ तोकिएको छ त्यहाँ लगेर चलानी गराउनुहोस् । चलानी गर्नेले सरुवा सहमती खामबन्दी गरी लाहा छाप लगाइ सिलबन्दी गरिदिन्छन् । उक्त सिलबन्दी खाम बुझेको दस्तखत गरी लैजान सक्नुहुन्छ ।

यस्तो सिलबन्दी खाम कसैले पनि कहीँ पनि खोल्‍न हुँदैन । सिलबन्दी अवस्थामानै सरुवा सहमती चलानी भएको ३५ दिन भित्र लगेर दर्ता गराईसक्नु पर्छ । अन्यथा जरिवाना लाग्छ वा अवधि धेरै भइसकेको छ भने दर्ता नगरी फिर्ता पठाइदिन सक्छन् ।


आषा छ यो पोष्टले तपाईहरुलाई सवारी साधनको सरुवा सहमती लिने बारेमा जानकारी भयो होला । तपाईले आफ्नो काम आफैँ गर्न सक्नुभयो अथवा कुनै ब्यक्तिहरुले तपाईलाई ठग्‍न सकेनन् भने यो लेखको उपादेयता भएको ठहरिनेछ । 

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः