Header Ads Widget

ताजा

6/recent/ticker-posts

अनुमती नलिई मोटरसाईकलको स्वरुप परिवर्तन गरिसकेको भए के गर्ने?

अनुमती नलिई सवारी साधनको रंग, सिट, स्वरुप, इन्जिन, चेसिस आदि केहीमा पनि परिवर्तन गर्नु हुँदैन । प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ ले यस्ता परिवर्तलाई अबैध बनाईदिएको छ  र अनुमती नलिई परिवर्तन गरेको अवस्थामा सजायको भागी भईन्छ । (हेर्नुहोस्ः हेरफेरको अनुमती कसरी लिने)

जानीजानी अथवा थाहै नभई पनि यस्ता कुनै परिवर्तन गरिएको छ भने ट्राफिकले समातेर ब्लू बुक खोसी २४ घण्टे चिट काटिदिन्छन् । यस्तो अवस्थामा कारवाही भोगी सवारी साधनलाई पुरानै अवस्थामा फर्काई पुनः नियमित गराउनु पर्ने हुन्छ ।



सवारीको अन्य परिवर्तन भन्दा पनि इन्जिन र चेसिसमा भएको परिवर्तन अझ बढी सम्वेदनशील हुन्छन् । इन्जिन/चेसिसको नम्बर केरमेट भयो वा नबुझिने भयो वा बदलिन गयो भने यो अझ बढी गहन विषय बन्छ र सवारी साधन जफत सम्म हुन सक्छ । 

त्यसकारण कम्पनीले निर्धारण गरेको स्पेशिफिकेश र दर्ता प्रमाणपत्र / ब्लूबुकमा लेखिएको विवरणमा फरक पर्ने गरी कुनै प्रकारको हेरफेर गर्नु हुँदैन ।

यदि पहिलेनै हेरफेर भईसकेको छ भने त्यसलाई कसरी नियमित बनाउने भन्ने सम्बन्धमा तल बयान गरेको छु ।

स्वरुप परिवर्तनको जरिवाना

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा ४३ मा अनुमती नलिई हेरफेर गर्न नहुने व्यवस्था गरेको छ भने सोही ऐनको दफा १९४ उपदफा (२)ख मा त्यस्तो कसूर गरेको जरिवाना तोकिएको छ ।


उक्त उपदफा बमोजिम अनुमती नलिई हेरफेर गर्नेलाई रु सात हजार देखि पन्ध्र हजार रुपैया सम्म जरिवाना तोक्नु पर्ने उल्लेख छ ।

के के गर्नु पर्छ?

१. ट्राफिक प्रहरीले स्वरुप परिवर्तन उल्लेख गरी काटिदिएको २४ घण्टे पूर्जी लिएर यातायात व्यवस्था कार्यालय मोटरसाईकल गुर्जुधारा जाने ।

२. कार्यालयको तोकिएको अधिकृतबाट पूर्जीमा जरिवाना तोक्न लगाउने । यस्तो जरिवाना मोटरसाईकलको सिसि, चिट काटिएको समय देखि हाल सम्मको अवधि, हेरफेरको सम्वेदनशीलता आदि कुराहरु बिचार गरी रु ७०००।- देखि रु १५०००।- सम्म हुन सक्छ ।

३. चिटमा जरिवाना तोक्न लगाएपछि कर तिर्ने ठाउँको सोधपुछमा गई आफ्नो मोटरसाईकलको चालु आर्थिक वर्ष सम्म कर चुक्ता भए/नभएको एकिन गर्ने र नभएको भए कति तिर्नु पर्ने हो सो एकिन गर्ने ।

४. बैंकको काउण्टरमा गएर जरिवाना वापतको र कर/नविकरण वापतको रकम तिरी भौचर लिने र उक्त भौचर सँगैको झ्यालमा दिई रसिद लिने ।

५. मोटरसाईकलक तेश्रोपक्ष बीमाको अवधि बाँकी छ भने सोही बीमाको पोलिसी पेपरले काम गर्छ अन्यथा बीमा कम्पनीको काउण्टरमा गई तेश्रोपक्ष बीमा गरी पोलिसी पेपर लिने ।

५. कर जरिवाना तिरेको रसिद लिएर कारवाहीको ब्लूबुक फाँटमा गई पूर्जी देखाई ब्लूबुक खोज्न लगाउने । उक्त फाँटबाट ब्लू बुकमा कारवाहीको अभिलेख तथा कर नविकरण जनाईदिए पछि फाँटका अधिकृतबाट सो अभिलेख प्रमाणित गरी लिई जाने ।

यसरी जरिवाना तिरेर सजाय भोगीसकेपछि मोटरसाईकललाई वास्तविक स्वरुपमै बदल्नु पर्छ, अन्यथा फेरी ट्राफिक प्रहरीले समात्यो भने फेरी यही प्रकृया दोहोरिन्छ र प्रत्येक पटक जरिवाना तिरी रहनु पर्ने हुन्छ ।

यदि हेरफेर गर्न पाउने बमोजिमकै परिवर्तन छ भने स्वरुप परिवर्तन कायम गराई लैजानु पर्छ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः