Header Ads Widget

ताजा

6/recent/ticker-posts

ब्लूबुक नविकरण कहिले गर्ने, कसरी गर्ने र छुट तथा जरिवानाको हिसाब गर्ने तरिका

प्रत्येक वर्ष सवारी साधनको दर्ताको प्रमाणपत्र (ब्लू बुक) नविकरण गर्नु पर्छ  । ब्लूबुक नविकरण गर्नको लागि चालु आर्थिक वर्ष सम्मको कर तिरेको (हेर्नुहोस्ः आ.ब. २०७६।७७ का लागि तोकिएको सवारी कर तथा अन्य दस्तुरहरु) र (कम्तिमा तेश्रोपक्ष) बीमा गरेको हुनु पर्छ । 

कहिले सम्मको कर तिरिएको छ भन्ने कुरा ब्लू बुकमा जनाएको अभिलेख हेरेर थाहा हुन्छ । ब्लूबुकमा आर्थिक वर्ष, रसिद नम्बर, रकम र कर तिरेको मिति लेखी कर तिरेको अभिलेख जनाईदिएको हुन्छ । 

उदाहरणको लागि तलको तस्वीरमा देखाइएको ब्लूबुकको कर अभिलेख अनुसार  मिति २०७७।३।३ गते कर तिरेको देखिन्छ । सो मितिमा आर्थिक वर्ष २०७६।७७ सालको लागि रसिद नं २००५९६९७ बाट रु २९५०।- रकम  कर तिरेको देखिन्छ । 


यदि त्यस्तो अभिलेख जनाएको भेटिएन भने‍ पनि कार्यालयमा गई आफ्नो सवारी साधनको करप्रिन्ट माग्‍न सकिन्छ । कर प्रिन्टमा कुन मितिमा कुन रसिद नम्बरमा कति रकम तिरेको भन्ने विवरण हुन्छ ।

कहिले नविकरण गर्नु पर्छ भनी कसरी थाहा पाउने?

बागमती प्रदेशको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन ,२०७५ को दफा ३५ बमोजिम दर्ताको प्रमाणपत्र (ब्लूबुक) मा लेखिएको म्याद नाघेको ३ महिना भित्र नविकरण गराइसक्नु पर्नेछ भन्ने व्यवस्था छ । 

ब्लूबुकको "प्रमाण-पत्र नविकरण" भन्ने पानामा नविकरण गरेको मिति र नविकरण कायम रहने म्याद लेखिएको हुन्छ । लेखिएको म्याद नाघेको ३ महिनाभित्र प्रमाणपत्र नविकरण गराइसक्नु पर्छ । 

उदाहरणको लागि तलको चित्रमा देखाइएको ब्लूबुक मिति २०७७।३।३ गते नविकरण गरिएको थियो भने उक्त नविकरणको अवधि २०७७।९।१० गते सम्मको लागि दिइएको थियो । यस बमोजिम २०७७।९।१० गते पछि ३ महिना अवधि गणना गर्दा २०७७।१२।१० गते भित्र सो ब्लूबुक नविकरण गराइसक्नु पर्छ ।



नविकरण गर्दा अब नयाँ अवधि कति पाइन्छ?

प्रत्येक वर्ष कर तिरी नविकरण गर्दा अर्को १ वर्षको लागि नविकरण अवधि पाइन्छ ।

 

यस्तो अवधि गणना गर्दा कुन मितिमा कर तिरेको वा नविकरण गरेको भन्ने कुराले असर गर्दैन । जुनसुकै मितिमा नविकरण गरेको भएता पनि ब्लूबुकमा लेखिएको मितिको आधारमा यातायात कार्यालयले अर्को १ वर्षको लागि नविकरण अवधि जनाईदिन्छ । 

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०७४ मा पुनः दर्ता गर्दाको अवस्था बाहेक अन्य कुनै अवस्थामा सवारी दर्ता प्रमाणपत्रमा उल्लिखित म्याद समाप्त भएको मितिदेखि नै गणना गरी म्याद कायम गर्नुपर्छ भनी लेखिएको छ। त्यसकारण कर तिरेको मिति वा नविकरण गरेको मितिबाट १ वर्ष गणना गर्ने नभई ब्लूबुकमा लेखिएको मितिमा अर्को १ वर्ष थप गरी नविकरण कायम रहने गरी लेखिदिन्छन् ।



अवधि कटेको अवस्थामा जरिवाना कसरी हिसाब गर्ने?

ब्लूबुकमा लेखिएको म्याद कटेको ३ महिना भित्र नविकरण गराइसक्नु पर्छ । नविकरण नगराएको कारणले उक्त अवधि पश्चात् नविकरण र कर दुबैमा जरिवाना लाग्छ ।

नविकरणको जरिवाना गणनाः

म्याद नाघेको एक आर्थिक वर्ष सम्म नविकरण दस्तुरु रु.१००।- को अर्को  रु.१००।- समेत गरी जम्मा रु.२००।- 
दुई आर्थिक वर्ष सम्म नविकरण दस्तुर रु.२००।- को अर्को रु.२००।- समेत गरी जम्मा रु.४००।-
त्यसै गरी तीन आर्थिक वर्ष सम्मको लागि रु.६००।-
चार आर्थिक वर्ष सम्मको लागि रु.८००।-
र पाँच आर्थिक वर्ष सम्मको लागि रु.१०००।-

(श्रोतः प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ३५ को उपदफा ४)

पाँच आर्थिक वर्ष समेत नाघिसकेको हो भने त्यस्तो सवारी साधनको दर्ता खारेज हुन्छ ।  दर्ता खारेज भएको सवारी साधन पुनः दर्ता नगरी नविकरण गराउन मिल्दैन ।


साथै, हाल बागमती प्रदेशले दर्ता खारेज भएका सवारी साधनहरुको हकमा सम्बत् २०७७ मंसिर मसान्त सम्मको लागि छुट सहितको अफर ल्याएको छ । उक्त अवधि भित्रै पुनः दर्ता गरी फाइदा उठाउन नछुट्नु होला। 


करको जरिवाना गणनाः

म्याद नाघि जरिवाना लागिसकेको हो भने करको जरिवानाको हिसाब तल बताइए अनुसार गर्नु पर्छः

म्याद नाघेको पहिलो ३० दिन सम्म सवारी करमा ५% थप जरिवाना लाग्छ ।
त्यसपछिको ४५ दिन सम्म सवारी साधन करमा १०% थप जरिवाना  
त्यसपछि सो आर्थिक वर्षको अन्त सम्मलाई सवारी साधन करमा २०% थप जरिवाना
त्यसपछिको ५ वर्ष सम्म प्रत्येक आर्थिक वर्षका लागि सवारी साधन करमा ३२% का दरले थप जरिवाना लाग्छ ।

(श्रोतः प्रदेश सवारी तथा यातायात (पहिलो संशोधन) ऐन, २०७६ को दफा ३४ )

यदि ५ वर्ष सम्म पनि कर तिरिएको छैन भने त्यस्तो सवारी साधन रोक्का गरी उक्त सवारी साधन लिलाम बिक्री गरी सो रकम असूल उपर गरिनेछ भन्ने कानूनी व्यवस्था छ (ऐनको दफा १७७(१))।  तर कार्यालयले लिलाम वा अन्य सजाय कारवाही शूरु हुनुभन्दा अगाडिनै आफूलाई लाग्‍ने कर जरिवानाको रकम बुझाउन गयौँ भने ठहरेको रकमको १०% थप जरिवाना तिरेर पुनः दर्ता प्रकृयामा जानु पर्छ ।

५ वर्षको एकैपटक नविकरण गर्दा १०% छुट पाइन्छ

वर्षैपिच्छे नविकरण गराउनु पर्ने कारणले झण्झट महशूस गर्नु भएको छ र पटक पटक जरिवाना तिरेर झन धेरै रकम खर्च भईरहेको छ भने एकैपटक ५ वर्षको लागि नविकरण गरी सुरक्षित हुन सक्नुहुन्छ ।

प्रदेश आर्थिक ऐन २०७६ को अनुसूची २ को क्रम संख्या ९ बमोजिम "जुनसुकै सवारी साधनका धनीले चाहेमा लाग्‍ने सवारी साधन कर प्रचलित दरका आधारमा एकमुष्ट रुपमा पाँच वर्षसम्मका लागि एकैपटक भुक्तानी गरी नवीकरण गराउन सक्नेछन् । यसरी अग्रिम रुपमा पाँच वर्षको सवारी साधन कर एकमुष्ट बुझाई नवीकरण गराएमा लाग्‍ने सवारी साधन करमा दस प्रतिशत छुट हुनेछ ।" भन्ने व्यवस्था छ ।



यसरी अग्रीम रुपमा कर तिरी नविकरण गराउँदा विषेशतः तीन वटा फाइदाहरु हुन्छन्ः

१. तिर्नु पर्ने करमा १० प्रतिशतले हुन आउने रकम छुट पाइयो ।
२. प्रत्येक वर्ष सवारी कर बृद्धी भएता पनि हालको दरमा नै कर तिरे पुग्यो ।  
३. नविकरण गराउन बिर्सेमा वा आफु बाहिर भएकोले भ्याइएन भने लाग्‍ने जरिवानाको चिन्ताबाट मुक्त भइयो ।


आषा छ यस पेजमा प्रस्तुत सामग्री पढेर सवारी साधनको दर्ता नविकरण गर्ने सम्बन्धमा जानकारी हासिल गर्नु भयो होला । कुनै  जिज्ञासा भएमा वा अझ विस्तृत छलफल गर्नु परेमा तल कमेन्ट बक्समा लेख्‍न नहिचकिचाउनु होला ।

थाहा भयो भने आफैँ गर्न सकिन्छ । जानकार रहौँ अरुको भर नपरौ ।

तपाईको प्रतिकृया / कमेन्ट्सहरुः